Naviinfosys News

📅

जेनजीले देखाए पुस्तान्तरणको विश्व परिघटना

बुमर पुस्ताको ऊर्जाशील बुढ्यौली र नयाँ पुस्ताको उकुसमुकुस संसारभरको यथार्थ हो- तर विकासशील अर्थतन्त्र भएका देशका युवामा विकसित अर्थतन्त्र भएका देशका युवा झैं रणनीतिक सोचको अभाव र विकासशील देशका राजनीतिक प्रणालीहरूले प्रणाली न्यायसंगत छ भन्ने सन्देश स्थापित गर्न नसक्नु- जेनजी धैर्यको बाँध भत्किनु विद्रोहको मूल कारण हुन सक्छ ।

हाम्रै जीवनकालमा स्वास्थ्य विज्ञानको विकासले संसारभर मान्छेको औसत उमेर ह्वात्त बढेको छ। कग्नेटिभ रिभोल्युशनपछि ७० हजार वर्षको मानव इतिहासमा, करिब १० हजार वर्ष पहिले कृषिको सुरुआत भएपछि मात्र मान्छेको औसत आयु ५ वर्ष बढेर ३६ को हाराहारी पुगेको थियो।

म हाईस्कूल पढ्दा वि.सं. २०३५ ताका नेपालको औसत आयु ४८ वर्ष भनेर पढेको थिएँ, अहिले ७० भन्दा बढी छ। सन् १९५० मा अमेरिकाको औसत आयु ६८ वर्ष थियो, अहिले ७९ वर्ष छ। सन् १९२० ताकासम्म पनि मान्छेको औसत आयु ३८ वर्ष हाराहारी थियो- खासगरी पछिल्लो १०० वर्षमा औसत आयु लगभग दोब्बर भएको छ।

अर्कोतिर आधुनिककालका कामहरू शारीरिकभन्दा मानसिक प्रकृतिका हुन थालेपछि मानिसहरू ८० को उमेरमा पनि काम गरिरहने संस्कारको विकास भएको छ। छोटो समयमा मानिसको उमेरले मारेको यो फड्कोले संसारभर आफ्नो छाप त छोड्ने नै भयो।

विकसित देशहरूमा यसको असर राजनीति भन्दा व्यापार क्षेत्रमा ज्यादा देखिएको छ। माइलेनियल, जेन एक्स, जेनजीहरू व्यापारमा नेतृत्व लिन तत्पर भइरहँदा, बुमर पुस्ता भने छोड्न तयार नभएको संकेत दिइरहेछन्। सोरोस, मर्डकदेखि बफेटसम्म नब्बेको हाराहारी उमेरमा बल्ल मन नमानी–नमानी युवा पुस्तामा नेतृत्व हस्तान्तरणबारे विचार गर्दैछन्। ओरेकल कम्पनीले नयाँ कन्सेप्ट ल्याएको छ— को-सीईओ भनेर एक जना बुमर र अर्को युवा गरी दुई जना ड्राइभिङ सीटमा छन्। सामाजिक क्षेत्रमा पनि त्यस्तै हालत छ- चर्चदेखि विश्वविद्यालय, क्लबहरू, खेलकुदका कोचहरूसम्म ६५ हाराहारी उमेर समूह हावी छ।

विकसित अर्थतन्त्र भएका पश्चिमी मुलुकमा घर, गाडी आदिको खरिदमा पनि नगद ज्यादा भएको बुमर पुस्ता यति हावी भएको छ कि माइलेनियल र जेनजी उनीहरूसँग प्रतिस्पर्धामा पछाडि परिरहेका छन् भन्ने आर्थिक तथ्याङ्कहरूले देखाइरहेका छन्। राजनीतिमा पनि त्यही हालत छ- अमेरिकाको केसमा हेर्ने हो भने, राष्ट्रपति बाइडेन भनौं वा ट्रम्प, दुवैको उमेर ८० हाराहारी छ। न बाइडेनले सहजै छाडे, न ट्रम्पले छाड्नेवाला छन्। ट्रम्प त अझै तेस्रो टर्मका लागि कुनै संवैधानिक व्यवस्था हुन सक्छ कि भनेर विचार गर्दै छन्। अमेरिकाको सिनेटमा हेर्ने हो भने- १०० जनामा ५४ जना ६५ वर्षभन्दा माथिका छन्, ४० वर्षभन्दा कमका ३ जना मात्र छन्। अमेरिकन सिनेटको औसत आयु ६४.५ वर्ष छ।

यसको अर्थ- विकसित अर्थतन्त्र भएका देशहरूमा युवा पुस्ता हरेक क्षेत्रमा पछाडि छ। यो स्थितिलाई त्यहाँका युवा पुस्ताले नियालेर हेरिरहेको छ। ऊ उकुसमुकुसमा छ, र प्रणालीमा केही त्रुटि छ जसले उनीहरूलाई पछाडि पारिरहेको छ भन्ने बुझ्दैछ। र युवा पुस्ता, प्रणालीले दिने हदसम्मको प्रतिस्पर्धामा चुपचाप उत्रिएको छ। यी देशका जेनजी रणनीतिक सोचमा छन्- यो उकुसमुकुस आक्रोशमा परिवर्तन भइसकेको छैन। प्रणाली घातक छ, तत्काल हिंसा प्रयोग गरेरै भए पनि परिवर्तन गर्नुपर्छ भन्ने निष्कर्षमा उनीहरू पुगेका छैनन्।

विकासशील र अविकसित अर्थतन्त्रहरूमा भने पुस्तान्तरण अलि फरक ढंगले म्यानिफेस्ट भइरहेको छ। ती देशहरूमा रोजगारको अवसर कम छ, व्यापारिक क्षेत्र कमजोर छ, सामाजिक र सांस्कृतिक क्षेत्रले उनीहरूलाई आफ्नो भावना व्यक्त गर्ने प्लेटफर्म दिइरहेको छैन। जेनजी चारैतिरबाट घेरिएको छ, चरम निराशाको भाव छ, उसले आफूमाथि अस्तित्वकै संकट देखिरहेको छ। अर्कोतिर ती देशहरूमा जो राजनीतिमा छन्, उनीहरूको जीवनशैलीमा शान–शौकत झल्किइरहेको छ।

सँगै पढे–हुर्केका केही साथी-संगी जो राजनीतिक घरानासँग जोडिएका छन्, उनीहरू विना कठिनाइ आर्थिक रूपमा सफल भएका छन् भन्ने जेनजीहरूको बुझाइ छ। बंगलादेश, श्रीलंका, नेपाल शायद यसैका उदाहरण हुन्।

नेपालको केसमा माथिका सबै सत्य हुनुका साथै— राजनीतिक नेतृत्वको सामान्य नागरिकप्रतिको उदासीनता, चुनाव जित्न प्रयोग गरिने अव्यावहारिक वाचा र हत्कण्डा, चुनाव जितेपछि अर्को चुनावसम्म राज्यको दोहन गर्ने अधिकार हो भन्ने जस्तै देखिने व्यवहार, उत्तरदायित्वविहीन अधिकार प्रयोग, नागरिकस्तरका सेवा प्रवाहप्रतिको अति उदासीनता- यी सबै जेनजी पुस्ताको असन्तुष्टिका थप कारण हुन्। जेनजी भाषामा यो स्थितिलाई— राजनीतिमा हावी बयोवृद्ध पुस्ता ‘आउट अफ टच’ भएको अवस्था भन्न मिल्ला ।

विद्रोहपछि जेनजीहरू दर्जनौं चिरामा बाँडिएर शक्तिको क्षय भएको देखिन्छ, यसले पनि उनीहरू पछाडि परिरहेछन् ।  पाको पुस्ता विभिन्न कोणबाट आक्रमण गरेर, हँस्यौली गरेर जेनजीको धैर्य र रणनीतिकता जाँचिरहेको छ

नेपालको केसमा अझ थप कारण के पनि हो भने- हाल सत्तामा रहेका सबै दलहरूले विगतमा नियोजित रूपमा “सत्ता भ्रष्ट हुन्छ”, “सत्तामा बस्ने इमानदार हुँदैनन्”, “भ्रष्टाचार विना अर्थोपार्जन सम्भव छैन”— भन्ने जस्तो भाष्य निर्माण गरेका थिए, जुन अहिले दलहरूकै लागि असहयोगी भएको छ। यस भाष्यले झन् व्यापारिक क्षेत्रमा ठूलो चुनौती सिर्जना गरिरहेको छ-किराना पसलदेखि होटल–हबसम्म हरेक व्यापार र व्यापारी “भ्रष्ट” हुन्छ भन्ने भाष्य छ। विशेष गरी वामपन्थी दलहरूले विगतमा आफ्नो राजनीति अघि बढाउन सामाजिक चेतनाको रूपमा गरेको वर्ग–विभाजन पनि आजको चुनौती हो।

चिल्ला गाडी र सुग्घर घर देख्नेबित्तिकै दैनिकीमा संघर्ष गरिरहेको वर्ग आक्रोशित हुने वातावरण तयार भएको संकेत देखिएको छ। समाजवादी आन्दोलनको राजनीतिक पृष्ठभूमि तयार गर्न रोपिएको वर्ग–विभाजनको र वर्ग–शिक्षा अहिले एकांगी, सिद्धान्तहीन, जड र निरपेक्ष भाष्यमा परिणत भएको छ। यो दलहरू र राजनीतिक प्रणालीका लागि निकै ठूलो चुनौती हो।

यी सबै कारणले जेनजीको विद्रोहको भावभूमि तयार भएको हो। यसै कारण जेनजीको उकुसमुकुस सीधै आक्रोशमा परिवर्तन भइरहेको छ। प्रणाली न्यायसंगत छैन भन्ने ठम्याइ उनीहरूको छ। यसरी युवा ऊर्जा विध्वंसमा परिणत भइरहेको छ।

अर्कोतिर- विद्रोहमा घुसपैठ भयो र ठूलो ध्वंस भयो भनिएको छ। एकछिन घुसपैठकै कुरा गरौं- कहाँ छैन घुसपैठ? राजनीतिमा स्वार्थ समूहको, मिडियामा राजनीतिको, कर्मचारीतन्त्रमा अकर्मण्यता, सेवाप्रति उदासीनता, राजनीति, भ्रष्टाचार आदिको घुसपैठ। घुसपैठ हुनै नहुने हरेक क्षेत्रमा घुसपैठ हुनसक्ने हरेक क्षेत्रको घुसपैठ छ। जेनजी आन्दोलन पनि घुसपैठबाट मुक्त हुन सकेन होला। जेनजीको आक्रोश बढाउने संरचनागत घुसपैठ नभएको भए जेनजी आन्दोलन नै हुनुपर्दैनथ्यो पनि होला ।

जेनजीको विद्रोहको प्रकृति भने विगतका कुनै पनि हड्ताल, अभियान वा क्रान्तिभन्दा फरक छ। विगतमा टाढाबाट ढुंगा हाने भनेर केही नेता अहिले पनि बदनाम छन्, उतिखेर रेलिङ भाँचेको हेडलाइन न्यूज हुन्थ्यो, टेलिफोन टावर भत्काउनु सबैभन्दा गम्भीर ध्वंस मानिन्थ्यो। आन्दोलन अघि पर्चा, पम्पलेट, भित्तेलेखन हुन्थ्यो- जसबाट आन्दोलन कसले गरेको हो र कति गम्भीर हुनेछ भन्ने पूर्वानुमान गर्न सकिन्थ्यो। जेनजी विद्रोहमा यी कुनै पनि कुरा लागू हुँदैनन्।

जेनजी विद्रोहमा सामाजिक सञ्जालको प्रयोग व्यापक छ, यसको आधारशिला रूपमा कुनै विचार वा सिद्धान्त छैन, स्पष्ट पूर्व–योजना र नेतृत्व पनि छैन, र मुख्य रूपमा- यो विद्रोहको ठूलो घोषित लक्ष्य हुँदैन। सापेक्ष रूपमा ज्यादा हिंसात्मक हुन्छ, यसको धक्का अपरम्परागत, स्तब्ध पार्ने र बलशाली हुन्छ— जसका कारण परम्परागत मान्यतामा आधारित सत्ता स्तब्ध भएरै धरमराउँछ र ढल्छ। तर जसरी अरब स्प्रिङ आयो–गयो, खासै कुनै उपलब्धि भएन— त्यसरी नै जहाँ–जहाँ जेनजी विद्रोह भयो, ती ठाउँहरूमा तात्विक राजनीतिक वा सामाजिक परिवर्तन हुने छाँट देखिएको छैन। किनकि यो घोषित लक्ष्य सहितको रणनीतिक आन्दोलन हैन ।

अनियन्त्रित आक्रोशले आन्दोलनको जामा पहिरेपछि हुने हिंसा र ध्वंसले जेनजी आफैं स्तब्ध भएका कारण उनीहरू तुरुन्तै रक्षात्मक अवस्थामा पुगेर विद्रोहको पूर्ण स्वामित्व लिनै नसक्ने देखिएको छ। विद्रोहपछि जेनजीहरू दर्जनौं चिरामा बाँडिएर शक्तिको क्षय भएको देखिन्छ, यसले पनि उनीहरू पछाडि परिरहेछन् ।  पाको पुस्ता विभिन्न कोणबाट आक्रमण गरेर, हँस्यौली गरेर जेनजीको धैर्य र रणनीतिकता जाँचिरहेको छ।

बुमर पुस्ताको ऊर्जाशील बुढ्यौली र नयाँ पुस्ताको उकुसमुकुस संसारभरको यथार्थ हो- तर विकासशील अर्थतन्त्र भएका देशका युवामा विकसित अर्थतन्त्र भएका देशका युवा झैं रणनीतिक सोचको अभाव, र विकासशील देशका राजनीतिक प्रणालीहरूले प्रणाली न्यायसंगत छ भन्ने सन्देश स्थापित गर्न नसक्नु- यी कारणले नेपाल जस्ता देशमा जेनजी धैर्यको बाँध भत्किनु, हाल देखिएको विद्रोह र विध्वंसको मूल कारण हुन सक्छ।

हेगेलियन डायलेक्टिक्सको प्रिज्मबाट हेर्ने हो भने पनि यो स्थापित थेसिसका विरुद्ध खडा भएको नयाँ एन्टी थेसिस हो, कुनै सिन्थेसिसको बाटो लिएर जगत अगाडि बढ्ला, ७० हजार वर्षदेखि मानव समाजको इतिहास यसरी नै अगाडि बढेको छ ।

प्रतिक्रिया !

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.