उच्च सरकारी स्रोतले त्यसै बेला अनलाइनखबरलाई दिएको सूचना अनुसार चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्की सहित केही मन्त्रीसँग त्यसै बेला क्रमशः टेलिफोन तथा प्रत्यक्ष भेट गरेका थिए ।
- चिनियाँ दूतावासले टासी ल्हान्जोमको स्वतन्त्र तिब्बत अभियानसँग संलग्नताको सूचना पाएपछि सरकारसँग वार्ता गरेको छ।
- टासीले आफू स्वतन्त्र तिब्बत अभियानसँग नजोडिएको र एक चीन नीतिमा स्पष्ट रहेको बताएकी छन्।
- चीनले नेपालमा भएको परिवर्तनले दुई देशबीचको सम्बन्धमा असर नपर्ने र विकास परियोजनामा सुधार हुने आशा व्यक्त गरेको छ।
२८ कात्तिक, काठमाडौं। हिमाली क्षेत्रको पर्यावरण तथा संस्कृति अभियानमा जोडिएकी टासी ल्हान्जोम अन्तरिम सरकारमा मन्त्री बन्ने खबर बाहिरिएसँगै चिनियाँ पक्षले गम्भीर चासो देखाएको खुलेको छ ।
हुम्लाकी टासी स्वतन्त्र तिब्बत अभियानसँग जोडिएको भन्दै असोज अन्तिम साता विभिन्न समाचार तथा सोसल मिडिया सामग्रीहरु सार्वजनिक भएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यी सूचनाहरुबारे अध्ययन थालेको थियो । कतिपयले उनको संलग्नताका आधारहरू देखिएको भन्दै आपत्ति जनाउन थालेका थिए ।
काठमाडौंस्थित चिनियाँ दूतावासले टासी तिब्बतबाट निर्वासित बौद्ध धर्मगुरु दलाई लामाले सन्चालन गरेको स्वतन्त्र तिब्बत गतिविधिसँग जोडिन पुगेको सूचनाहरु विभिन्न स्रोतबाट आफूकहाँ आएको भन्दै सरकारी पक्षसँग तुरुन्तै वार्ता थालेको थियो ।
उच्च सरकारी स्रोतले त्यसै बेला अनलाइनखबरलाई दिएको सूचना अनुसार चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्की सहित केही मन्त्रीसँग त्यसै बेला क्रमशः टेलिफोन तथा प्रत्यक्ष भेट गरेका थिए ।
‘महामहिम राजदूतले टासीको संलग्नताबारे संदिग्ध सूचनाहरु भेटिएको कारण चासो देखाउनुभएको थियो, उहाँले को मन्त्री बनाउने भन्ने विषय नेपालको आन्तरिक मामिला भए पनि चीनको संवेदनशीलतालाई असर पर्ने विषयमा हात नहाल्न अनुरोध गर्नुभएको थियो,’ कार्की मन्त्रिपरिषद्का एक वरिष्ठ मन्त्रीले त्यस बेला अनलाइनखबरलाई भनेका थिए ।
अनलाइनखबरले त्यस बेला चिनियाँ दूतावाससँग पुष्टि माग्न खोज्दा त्यसबारे स्पष्ट हुन सकेको थिएन । ठिक एक महिनापछि शुक्रबार एक उच्च तहका चिनियाँ अधिकारीले यसबारे मुख खोलेका छन् ।
‘हामीले टासीको विभिन्न संलग्नताको बारेमा सूचना थाहा पाएपछि सरकारसँग कुरा गरेका हौं, तर प्रधानमन्त्री कार्कीले त्यस बेलासम्म टासीलाई मन्त्री नबनाउने मन बनाइसक्नुभएको जस्तो छनक पायौं,’ ती उच्च चिनियाँ अधिकारीले भने, ‘नयाँ सरकार आएको भए पनि एक चीन नीतिको बारेमा जसरी यहाँका दलहरु स्पष्ट छन्, त्यसैगरी सरकार, जेनजी, नागरिक समाज सबै स्पष्ट नै भएको पाएका छौं । संवेदनशीलता बुझेकोमा धन्यवाद । हामीले नै मन्त्री बन्न रोकेकोे भन्दा पनि जायज सरोकारसम्म राजदूत चेनले राख्नुभएको हो ।’
टासीको तिब्बती गतिविधिसँग संलग्नताबारे कोलम्बिया विश्वविद्यालयले राखेको जानकारीसमेत नेपालमा विरोध सुरुसँगै वेबसाइटबाट हटाइएको जानकारी आफूले पाएको चिनियाँ पक्षले बताएको छ ।
आफू मन्त्री बन्ने निर्णयसँगै चिनियाँ राजदूत चेनले देखाएको चासोबारे अनलाइनखबरसँग शुक्रबार साँझ मुख खोल्दै टासीले आफू स्वतन्त्र तिब्बत अभियानसँग नजोडिएको स्पष्ट गरेकी छन्। आफ्नाबारे गलत सूचनाहरु फैलिएकोमा दुःख व्यक्त गर्दै टासीले आफू एक चीन नीतिमा सधैं स्पष्ट रहेको जिकिरसमेत गरिन्।
‘मेरो लिमी भ्यालीमा दालचामल सधैं चीनबाट आउने हो, मेरो गाउँको व्यापार व्यवसायको ९० प्रतिशतभन्दा बढी हिस्सा चीनसँग जोडिएको छ, म कसरी चीनविरोधी हुन सक्छु,’ टासीले प्रतिप्रश्न गरिन्, ‘राज्यले मानेको एक चीन नीति नै हाम्रो पनि नीति हो। चीनसँग राज्यको सम्बन्ध जति राम्रो भयो, हामीजस्तो दुर्गम ठाउँलाई त्यति नै राम्रो हुन्छ । अस्ति हिमताल फुटेर पहिरो जाँदा पनि चिनियाँहरु नै राहत र उद्धारका लागि आए । हाम्रो सम्बन्ध सुमधुर छ, कसैले पनि खल्बल्याउने कोसिस गर्नुहुँदैन ।’
टासी पार्टी राजनीतिमा सक्रिय हुने चर्चाबीच उनले थप अभियानमा भने सक्रिय रहिरहने बताइन् । ‘म राजनीतिमा लाग्ने नलाग्ने स्पष्ट भइसकेको छैन, तर मेरो दुर्गम गाउँका लागि काम गरिरहन्छु,’ टासीले भनिन्, ‘मलाई र मजस्ता युवाहरुलाई सबैको साथ चाहिन्छ, आशंका होइन।’
टासीले आफ्नो संलग्नताबारे आएका हल्लाहरुलाई खण्डन गर्दै गलत सूचना नफैलाउन आग्रहसमेत गरिन्।
चीनले नेपालमा जेनजी विद्रोहसँगै भएको परिवर्तनले नेपाल चीन सम्बन्धमा असर नपार्ने बताएको छ। उसले भ्रष्टाचारविरुद्ध नेपालमा भएको अभियानले दुई देशबीच चलिरहेका विकास परियोजनालाई झन् राम्रोसँग अघि बढाउन सक्ने आशा गर्दै अब नीतिगत स्थायित्व हुनेमा आशा व्यक्त गरेको छ।