Naviinfosys News

📅

निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथि कारबाही गर्न महासंघको आग्रह

  • शान्ति सुरक्षाको प्रत्याभूती दिन प्रहरी प्रतिबद्ध : महानिरिक्षक कार्की 
  • नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथि कडा कारबाही गर्न प्रहरीसँग आग्रह गरेको छ।
  • महासंघले दोषीमाथि कारबाही नगरे दण्डहीनता बढ्ने र लगानीको वातावरणमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।
  • प्रहरी महानिरीक्षक कार्कीले दोषीलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिने र शान्ति–सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथि कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसँग आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको सो टोलीले घटनामा संलग्नहरुमाथि कारबाही नगर्ने हो समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा महानिरीक्षक कार्कीको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि निजी क्षेत्रको मनोबल कमजोर मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्‍याएको बताए ।

‘जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । यद्यपी पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ,’ उनले भने ।

उनले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढन गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहोरिन सक्ने जोखिम कायम रहने धारणा राखे ।

निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको लागि पहिलो शर्त शुरक्षा भएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नहुने हो भने आर्थिक गतिविधि र लगानी निरुत्साहित हुने बताए ।

‘आन्दोलन पछि व्यवसायीहरुले प्रमाणसहित जाहेरी दिए पनि नलिएको अवस्था छ । काठमाडौं बाहिरका जिल्लाहरुबाट पनि जाहेरी नलिएको गुनासो व्यवसायीहरुबाट आइरहेको छ । यसले व्यवसायीहरुमा एक प्रकारको निराशा छाएको छ । तसर्थ यसलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु,’ उनले भने ।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने गरेपनि यो पटक निजी क्षेत्रमाथि योजनाबद्ध रुपमा आक्रमण गरिएको बताए । उनले शान्ति सुरक्षा बिना स्थायित्व कायम नहुने र स्थायित्व बिना आर्थिक गतिविधि चलायमान नहुने हुनाले शान्ति सुरक्षाको प्रत्याभूति अत्यन्तै आवश्यक रहेकोमा जोड दिए ।

सो अवसरमा प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले शान्ति–सुरक्षा कायम गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध भएर लागेको बताए । आन्दोलनका क्रममा गलत घुसपैठ गरी हिंसा, तोडफोड र अराजक कार्यमा संलग्न जो–कसैलाई पनि प्रमाणका आधारमा कानुनी कारबाही दायरामा ल्याइने धारणा राखे ।

‘निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार हो । यो क्षेत्रको संरक्षण बिना अर्थतन्त्र चलायमान हुन सक्दैन । नेपाल प्रहरी निजी क्षेत्र, आम नागरिकको सुरक्षाको लागि सधैं संवेदनशील छ । यसमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने ।

प्रहरी महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथी भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइने र यसका लागि सबै जिल्लास्थित प्रहरी कार्यालयहरुलाई निर्देशन दिइएको जानकारी दिए ।

प्रतिक्रिया !

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.