- स्वास्थ्य बिमा प्रणालीलाई प्रभावकारी बनाउने स्वास्थ्यमन्त्री शर्माको भनाइ
काठमाडौँ — पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड भ्याक्सिन समूह, अक्सफोर्ड विश्वविद्यालय बेलायतबीचको सहकार्यले २० वर्ष पुगेको छ । सोही अवसरमा आयोजना गरेको गरेको वैज्ञानिक गोष्ठी तथा बाल स्वास्थ्य अनुसन्धानमा दुई दशक लामो सहकार्यको समीक्षा तथा उपलब्धिहरूको आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा दुई दशकको वैज्ञानिक साझेदारी, सामुदायिक संलग्नता, र विश्व स्वास्थ्यमा पुर्याइएको योगदानलाई प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, अक्सफोर्ड भ्याक्सिन समूहका वरिष्ठ सहकर्मी, राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष, प्रमुख अस्पतालका चिकित्सक, नेपाल बाल रोग समाजका सदस्य, तथा सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधि उपस्थित रहेका थिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले स्वास्थ्य बिमा प्रणालीलाई प्रभावकारी बनाउन मन्त्रालयले लगातार छलफल गरिरहेको र यो चाँडै नै प्रभावकारी बनाउने बताएकी छिन् । साथै मानसिक स्वास्थ्यका विषयमा बिरामीहरू खुलेर अझै बोल्न नसक्ने भएका कारण उनीहरूको आवाज सबै बनेर सहयोग गर्नुपर्ने बताएकी छिन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले महानगरपालिकाले पाटन हस्पिटललाई सहयोग गरिरहेको र आउँदा दिनमा पनि निरन्तर साथ दिने जनाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) खोप तथा जैविक विभागकी निर्देशक डा.केट ओुब्रायनले भिडियो सन्देशमार्फत सहकार्यको विश्वव्यापी योगदानबारे मन्तव्य समेत राखेकी थिइन् । त्यसैगरी, नेपालस्थित डब्ल्यूएचओ प्रतिनिधि, राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष, ललितपुर महानगरपालिकाका मेयर, र स्वास्थ्य तथा जनसंख्यामन्त्रीले पनि कार्यक्रममा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा यूके, अमेरिका, न्युजिल्यान्ड, नेदरल्यान्ड्स र युगान्डाबाट ३० भन्दा बढी वैज्ञानिक र अनुसन्धानकर्ताहरूले सहभागिता जनाएका थिए । सबैको सहभागिताले सहकार्यको राष्ट्रिय महत्त्व र नेपालको सार्वजनिक स्वास्थ्यमा पुर्याएको योगदानलाई झल्काएको प्रतिष्ठानले जनाएको छ ।
एक दिनसम्म चलेका वैज्ञानिक सत्रहरूमा पाटन स्वास्थ्य अनुसन्धान विभागले सञ्चालन गरेका विभिन्न अनुसन्धान परियोजनाहरूका नतिजा प्रस्तुत गरिएको थियो ।
पाटन अस्पतालअन्तर्गतको बाल स्वास्थ्य अनुसन्धान विभाग सन् २००५ मा दिवंगत प्रा. डा.नीलम अधिकारीले अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड भ्याक्सिन समूहसँगको सहकार्य स्थापना गरेका थिए । यसमा प्रोफेसर सर एन्ड्यू जे. पोलार्ड र प्रा.डा.डेभिड मर्डकको विशेष भूमिका रहेको थियो। हाल प्रोफेसर सिर्जना श्रेष्ठ अनुसन्धान विभागको नेतृत्व गरिरहेकी छिन् । कार्यक्रममा प्रतिष्ठानले नीति निर्माणमा योगदान पुऱ्याएका प्रमुख अध्ययनसमेत प्रस्तुत गरेको थियो ।
दुई दशकमा लामो प्रतिष्ठान र अक्सफोर्ड भ्याक्सिन समूहबीचको सहकार्यले बाल संक्रामक रोग अनुसन्धानलाई नयाँ उचाइमा पुभ्याएको जनाउँदै नेपालमा अनुसन्धान पूर्वाधार सुदृढ गरेको, र विश्वव्यापी खोप नीतिमा महत्त्वपूर्ण योगदान पुऱ्याएको प्रतिष्ठानले जनाएको छ ।